बैतडी–भारत उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध आज बिहान ८ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म खोलिने भएको हो।
बाँध खोलेका बेला र त्यसपछि केही घन्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षाका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। यसका साथै लगातारको वर्षा र बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ। दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ।
धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गरिन्छ। यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो। परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । २०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो।–रासस


