काठमाडौँ- सन् २०१६ मा २–२ को बराबरी खेलेपछि नेपाली फुटबल टिमले पछिल्लो हप्ता पहिलो पटक बुधबारको खेलमा लाओसविरुद्ध २–० को जित निकाल्यो। त्यसपछि भुटानसँग इतिहासमै सबैभन्दा खराब प्रदर्शन गरेर बराबरीमा रोकियो। यी दुई नतिजा पछिल्लो हप्ताका मात्र हुन्।
खेलाडी पलायनको सिकार भएको नेपाली फुटबल टिमले आज दशरथ रंगशालामा लाओसको सामना गर्दैछ। यो खेललाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको फाइनल खेलको रुपमा लिइएको बताएको छ।
फिफा विन्डोमा दुई मात्र मैत्रीपूर्ण खेल्न पाइने भएको कारण यो खेल भने आधिकारिक मैत्रीपूर्णमा छैन। यद्यपि दुवै टिमले आजको खेल महत्वपूर्ण रहेको बताएका छन्।
भुटानविरुद्ध खेलेपछि आफ्नो टिमले सुधार गरिरहेको बताएका नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले राम्रो नतिजा ल्याउने आशा गरेको बताएका छन्।
‘भुटानसँग खेलेपछि हामीले टिममा रिकभर गरेका छौं। साथै टिमलाई लगातार मोटिभेट गरिरहेका छौं। राम्रो रिजल्टको आशा गरेका छौं,’ खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्।
नेपाली टिमका कप्तान तथा नेपालबाट सर्वाधिक खेल खेलेका किरण कुमार लिम्बूले भने यो खेल केही गाह्रो हुने बताए। उनले भने, ‘लाओसविरुद्धको खेल केही टफ हुन्छ भन्ने लागेको छ। नयाँ खेलाडीले गर्दा चुनौती छ नै। सम्हालेर लाने हो। प्रेरणा दिएर लैजाने हो।’
प्रशिक्षक भिन्सेन्जोले आजको खेलमा लागि अन्जन विष्ट पनि उपलब्ध हुने जानकारी दिएका छन्। तर पूजन उपरकोटीको ठाउँमा अरु खेलाडीसँग उतार्ने तयारी रहेको उनले बताए।
‘हामी खेलको लागि मानसिक रूपमा तयार छौँ। सबै खेलाडी र नेपाली फुटबलको लागि राम्रो सन्देश आउनेछ,’ उनले भने। आजको खेलले फिफा वरीयतामा भने असर गर्ने छैन र खेलाडीको आधिकारिक खेल गनिने छैन।
‘वरीयतामा असर नगरे पनि यो खेल मोटिभेसन र सेल्फ कन्फिडेन्सको लागि महत्वपूर्ण छ। थ्री नेसन्स कप हाम्रो लागि महत्वपूर्ण प्रतियोगिता भएको छ,’ कप्तान किरणले भनेका छन्, ‘फाइनल भनेको फाइनल नै हो। हामी सबै रेडी छौं। मेरो टिमबारे म गर्व गर्छु। हामीसँग केही समस्या छैन। म नेपाली खेलाडीको मेन्टालिटीलाई माया गर्छु।’
नेपालले २०७७ को चैतमा पनि बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टिमसँग थ्री नेसन्स खेल खेलेको थियो। त्यो प्रतियोगिता खेल्दाको तीनचार जना खेलाडी मात्र अहिले टिममा रहेको प्रशिक्षक बताउँछन्।
‘अनन्त(तामाङ), किरण(लिम्बू) अन्जनलगायत रहेका छन्। हाम्रो छिमेकी बंगलादेश र भारतमा खेलाडी परिवर्तन भएका छैनन्। त्यसैले यि खेलाडीलाई मोटिभेसन चाहिन्छ,’ उनले भने।
लाओसविरुद्धको खेलमै डेब्यु गरेका फरवार्ड दिपक राज सिंह ठकुरी अहिले हाइलाइटमा छन्। उनले सहिद स्मारक ए डिभिजन लिगमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्। यसैले उनले आउँदा खेलमा सुरुआति ११ मा ठाउँ बनाउन सक्ने सम्भावना छ।
‘दुई खेलमध्ये एकमा गोल गरे। त्यसैले त्यो कुरा हुन पनि सक्छ। गोलको कुराले उनी मोटिभेट भएका छन्। हामी टिममा फोकस हुनुपर्छ,’ प्रशिक्षकले भने।
प्रशिक्षक भिन्सेन्जोले सुरुमै आफ्नो टिमले धेरै गोल गर्ने बताएका थिए। यद्यपि सुरुआति दुई खेलमा त्यो देख्न पाइएको थिएन। भुटानविरुद्धको खेलमा त नेपालले अन्तिम मिनेटमा मात्र गोल गरेको थियो।
‘हो, मैले पहिले पनि भनेको थिएँ कि मलाई गोल हेर्न मन पर्छ। तर अहिलेसम्म तीन गोल मात्र भएको छ। तर हामीले गोलको लागि अवसर बनाएको हो नै तर फाइनल टच हुन पाएन्,’ उनले भने।
नेपाल र लाओसबीचको फाइनल खेल आज साँझ साढे ५ बजेबाट दशरथ रंगशालामा सुरु हुनेछ।


