काठमाडौँ– भदौ २६ गतेदेखि काठमाडौँको भृकुटीमण्डस्थित प्रदर्शनीस्थलमा नाडा अटो शो–२०२३ चलिरहेको छ। नाडा अटोमोबाइल्स अफ नेपालको आयोजनामा भदौ २६ गतेदेखि सुरु भएको शो भदौ ३१ गते सकिँदैछ।
शोमा विभिन्न कम्पनीले नयाँ सवारी मात्र भित्र्याएका छैनन्, आकर्षक अफर पनि ल्याएका छन्। अफर नयाँ सवारीमा मात्र पनि सीमित छैन, पुराना सवारी पनि उतिकै प्रतिस्पर्धी छन्। शोमा सवारी साधनका साथै लुब्रिकेन्ट, टायर, पार्टपूर्जा पनि राखिएको छ। प्रदर्शनीमा नेपालमा बिक्रीवितरण हुने सबै खाले सवारी र तिनका लागि आवश्यक सामग्री राखिएको छ। पेट्रोल/डिजेलबाट चल्ने सवारीका साथै विद्युतीय सवारीको हिस्सा उल्लेख्य रूपमा बढेको छ।

आर्थिक मन्दीको बेला पनि अटोमोबाइलप्रति आकर्षण कमी नभएको नाडा अटोमोबाइल्स अफ एसोसिएनका अध्यक्ष ध्रुव थापा बताउँछन्। ‘नाडा अटो शोको अन्तिम दिनसम्म आइपुग्दा हामी एकदम उत्साहित छौं। समग्रमा व्यावसायिक रुपमा पनि यो शो उत्साहप्रद बन्यो,’ उनले भने, ‘मन्दीका कारण व्यापार हुँदैन कि भन्ने डर थियो। तर, ग्राहकको आर्कषण बढेको पाइयो। यो हाम्रा लागि उत्साहजनक भयो।’ समग्रमा देशको अर्थतन्त्रलाई नै चलायमान गराउन शो फलदायी हुने उनले विश्वास व्यक्त गरे।
हिटलिस्टका सवारी
हुन्डाई
दक्षिण कोरियाली कम्पनी हुन्डाईका लागि आधिकारिक नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा हुन्डाई एक्टर गाडी सार्वजनिक गरेको छ। यो मोडलका गाडीमा दुई भेरियन्ट छन्।

यो कम्पनीले विद्युतीय सवारी (ईभी) अन्तर्गत आइनिक-५ र कोना बिक्री गरिरहेको छ। शोमा कम्पनीले तुसान, कोना, ग्रेटाको गाडी पनि प्रदर्शनीमा राखेको छ।
हुन्डाईको नयाँ गाडीप्रति ग्राहकको आकर्षण रहेको कम्पनीको भनाइ छ। ‘आकर्षण राम्रो छ। हुन्डाई भनी खोजीखोजी हाम्रो स्टलमा आउनुभयो,’ हुन्डाई काठमाडौँका डिलरसीप मेनेजर दिवाकर रेग्मीले बताए।
ग्रेट वाल मोटर्स
चिनियाँ कम्पनी ग्रेट वाल मोटर्सको आधिकारिक बिक्रेता भीजे इमपेक्सले शोमा बिजुली गाडीलाई प्राथमिकता दिएको छ। कम्पनीले नयाँ गाडी लन्च नगरे पनि कम्पनीका ईभीमा ग्राहक लोभिएका छन्। कम्पनीले ह्याभल जोलिअन र ह्याभल एच-६ गाडी नाडा शोमा राखेको छ।

कम्पनीले ईभीका रुपमा ओरा ०३ गाडीको समेत बुकिङ खुला गरिसकेको छ। कम्पनीको ईभीमा एउटा मात्र भेरियन्टको गाडी छ। कम्पनीले कतिपय गाडीहरु डेलिभरी समेत गर्न सुरु गरिसकेको मार्केटिङ एन्ड सूचना विभाग प्रमुख पंकज यादव बताउँछन्।
राम्रो ‘पिकअप’ दिने भएकाले डिजेल गाडी पोअरमा समेत सम्भावित उपभोक्ता आकर्षित भएका छन्। ग्रेट वाल मोटर्सका गाडीप्रति ग्राहकले बढी रुचि राखेको, सोधपुछदेखि आकर्षण बढेको यादवको अनुभव छ।
महिन्द्रा
भारतीय गाडी महिन्द्राका लागि नेपाली बजारको आधिकारिक बिक्रेता तथा वितरक अग्नि ग्रुपले विभिन्न भेरियन्टका गाडी सार्वजनिक गरेको छ। स्कारपियो क्लासिक, स्कारपियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० गाडी महिन्द्राले शोमा राखेको छ। कम्पनीले एड्भेन्चरमा लक्जरियस कारसमेत सार्वजनिक गरेको छ।

महिन्द्राका नयाँ र सबैखालका गाडीहरुमा उपभोक्ताको आकर्षण बढिरहेको अग्नि ग्रुपका मार्केटिङ प्रमुख निर्मल श्रेष्ठले बताए। ‘महिन्द्राका गाडीहरुकोको बुकिङ राम्रो छ। अझ बढ्ला भन्ने आशा छ,’ उनले भने। पहिला बोलेरा र स्कार्पियो आकर्षण भएपनि अहिले सार्वजनिक गरिएका ४ वटा भेरियन्ट गाडीले ग्राहकमा थप उत्सुकता थपिएको उनले बताए।
बीवाईडी
नेपालका लागि बीवाईडीको आधिकारीक बिक्रेता साइमेक्स इङ्कले नाडा अटो शोमा २ वटा गाडीहरु सार्वजनिक गरेको छ। बीवाईडी सेल र डल्फिन गाडी सार्वजनिक गर्दै नाडा अटो शोमा राखिएको छ।

बीवाईडी डल्फिन गाडी ग्राहकले निकै रुचाइरहेका छन्। त्यस्तै, बिवाईडी अटो ३ मा ३ वटा भेरियन्टका गाडीहरु सार्वजनिक गरिएको छ। डिस्प्लेका लागि बीवाईडी सेल राखिएको साइमेक्स इङ्कका नेसनल हेड आशुतोष गौतमले बताए।
बीवाईडी डल्फिन इलेक्ट्रिक गाडीको मूल्य ३९ लाख ८० हजार रुपैयाँ पर्छ। नाडा अटो शोमा गाडी बुकिङ गर्ने ग्राहकले चार्जर र लोड केबल पनि निःशुल्क दिने कम्पनीले जनाएको छ। त्यस्तै, एक वर्षको सडक कर र बीमा पनि हुनेछ। नाडामा बीवाईडीको गाडीको बुकिङको अवस्था राम्रो रहेको गौतमले बताए।
सुजुकी
नाडा अटो शोमा सुजुकीका विभिन्न भेरियन्टका गाडीहरु प्रदर्शनीमा छन्। सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटरकर्पका अनुसार, सुजुकी एसयूभी रेन्ज मूख्य रुपमा रुचाइएको छ। यसमा ४ वटा फरक फरक भेरियन्टका गाडीहरु प्रर्दशनमा राखिएको छ। त्यस्ता गाडीको मूल्य ३९ लाख देखि ९० लाखसम्म पर्ने मार्केटिङ प्रमुख करुण शाक्य बताउँछन्।

सुजुकीका एसयूभी रेन्जमा फ्रक्स र जिम्नीका गाडीहरुको माग पनि बढेको शाक्य बताउँछन्। ‘सुजुकीका गाडीहरुमा ग्राहकको प्रतिक्रिया र कमेन्ट राम्रो पाइरहेका छौँ,’ उनले भने, ‘एसयूभी रेन्जका विभिन्न भेरियन्टका गाडीमा बुकिङ भइरहेको छ।’
निसान
निसान गाडीको आधिकारीक बिक्रेता पायोनियर मोटरकर्पले विभिन्न भेरियन्डका गाडीहरु नाडा अटो शोमा राखेको छ। निसानको म्याग्नाइट एएमटी इजेट–सिफ्ट गाडी मूख्य रुपमा नाडा अटो शोमा देख्न सकिन्छ।

त्यस्तै, निसान जेरो इमिसन सेकेन्ड जेनेरेसन र निसान लिफ्ट इलेक्ट्रिक गाडी पनि प्रदर्शनीमा राखिएको छ। ईभीमा निसान लिफ्ट र नयाँ म्याग्नाइट एएमटीको बुकिङ राम्रो भइरहेको कम्पनीको माकेटिङ अफिसर प्रिजा कोइरालाले बताइन्।
नाडाका लागि गाडी बुकिङमा एक लाख देखि ३ लाखसम्म नगद छुट र एक वर्षको बीमा तथा सडक कर छुट र ३ वर्षसम्म निःशुल्क मर्मत हुने उनले बताइन।
टाटा गाडी
टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न भेरियन्टका गाडीहरु नाडा अटो शोमा राखेको छ। भर्खरै लन्च गरेको टाटा टियागो र मिडियम रेन्जमा ईभीका २ वटा गाडीहरु सार्वजनिक गरिएको छ।

नेक्सोन माक्र्स गाडीको मूल्य ४८ लाख र टियागो मोडलअनुसार २२ देखि २८ लाखसम्म मूल्य रहेको कम्पनीले जनाएको छ। ‘नेक्सोन माक्र्स गाडीमा राम्रो माग छ। सबैभन्दा बढी बुकिङ टियागोमा भइरहेको छ।’ सिप्रदी ट्रेडिङ कम्पनीका जेनेरल म्यानेजर सावनजंग सिजापति बताए। ‘बुकिङ पनि राम्रै भइरहेको छ। नाडा अटो शोमा बुकिङ गरिएका गाडीहरु हामीले दशैं अघि नै डेलिभर गरिसक्ने योजना छ।’ उनले भने।
सेरेस गाडी
सेरेस गाडीमा दुइवटा भेरियन्ट नाडा अटो शोमा देख्न सकिन्छ। जसमध्ये सेरेस–१ मिनि कारमा ३ वट भेरियन्टमा पाउन सकिन्छ भने १४ लाख देखि १८ लाखसम्म मूल्य पर्छ भने सेरेस–३ मा दुई भेरिन्टका गाडी पाउन सकिन्छ। जसमध्ये कम्फर्ट मोडलको मूल्य ५० लाख पर्छ भने प्रिमिय मोडल गाडीको मूल्य ५३ लाख रुपैयाँ पर्छ।

‘बुकिङको अवस्था राम्रो छ। दशैं अघि नै बुकिङ गाडी ग्राहकलाई डेलिभरी गर्छौ।’ थसिखेल डिलरका म्यानेजर उदीतनारायण यादवले बताए। सेरेस गाडीको नेपमाल आधिकारीक बिक्रेता मोरङ अटो वक्र्स(एमएडब्लू) ले नाडा अटो शोमा विभिन्न भेरियन्टका ईभी राखेको छ।
एमजी
नाडा अटो शोमा एमजीका चारवटा गाडी प्रदर्शनीमा राखिएको छ। जुन कमेट, एमजी–४ का दुई वटा भेरियन्ट, एजजी जेडएस ईभी रहेको छ। एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ड मोटर्सले कमेट र एसयूभीमा न्यू एमजी–४ नयाँ ईभी मोडल सार्वजनिक गरेको छ।

विभिन्न भेरियन्टका गाडीको मूल्य ५८ लाख ९९ हजारसम्मका रहेका छन्। गाडीको भेरियन्ट अनुसार मूल्य पनि फरक फरक तोकिएको छ। नाडा शोमा यसका गाडी खरिद गर्ने ग्राहकले ईभीको चार्जर, स्पेयर टायर र बीमाको सुविधाको अफर ल्याइएको छ। कर्जा मार्फत गाडी किन्न चाहने ग्राहकहरूले प्रभु, एभरेष्ट र नबिल बैंकले सहयोग गर्ने कम्पनीका सिनियर सेल्स सहायक धिरज महर्जनले बताए।
नेटा
अहिले नेटाका विभिन्न भेरियन्टका गाडीहरु नाडा अटो शोमा राखिएको छ। जसमध्ये, नेटा भी को एउटा मात्र हो भने नाडा अटो शोमा लन्च भएको नेटा यू मा ३ वटा भेरियन्टका छन। नेटा भीको मूल्य ३९ लाख हो भने नेटा यूको मूल्य ५२ लाख पर्छ।

नाडामा अर्को २ वटा मोडलका गाडी लन्च भएका छन्। जसमध्ये नेडा डीजी र नेटा एस गाडी आउँदो सन् २०२४ सम्म आउने नक्साल सोरुमका सेल्स म्यानेजर विकेक झा बताउँछन्।
बजाज
नाडा अटो शोमा बजाजका नयाँ मोटरसाइकलहरु प्रदर्शनीमा राखिएको छ। नयाँमा एनएस यूएसडी र बिए ६ पनि आएको छ। यसअघि युवा पुस्तामा निकै लोकप्रिय बजाजको एनएस भन्दा अहिले केही मोडिफाइ भएर आएको एनएसको बिक्रि राम्रो भइरहेको कम्पनीले जनाएको छ।
नयाँ आएको एनएसको मूल्य ४२४ हजार रुपैयाँ पर्नेछ। एनवान एक्स ६० को मोटरसाइलक पनि नाडामा राखिएको छ। जसको मूल्य ३९३ हजार रुपैयाँ पर्नेछ।
होन्डा
होन्डाले नयाँ प्रडक्टको रुपमा ३ वटा विभिन्न भेरियन्टका सवारी ल्याएको छ। नाडा अटो शोमा डीओ १२५, होन्डा एक्टिभ ६जी, होन्डा एक्स १२५ मोडलका स्कुटर तथा मोटरसाइकलहरु प्रदर्शनमा राखिएको छ। कम्पनीले विभिन्न मोडलमा ल्याएका २ पाङ्ग्रे सवारीको मूल्य पनि फरक फरक छ।


