काठमाडौँ- एसिया कपको फाइनल खेलमा भारतका तीव्र गतिका बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलंका ५० रनमै अलआउट भएको छ।
कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो।
खेलमा भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए। ओडीआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो। हार्दिक पाण्ड्याले २.२ ओभरमा तीन रन खर्चिँदै तीन विकेट लिए। जस्प्रित बुमराहले १ विकेट लिए।
श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए। श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। श्रीलंकाले गत संस्करणमा पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो।
५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो। एकदिवसीय खेलमा श्रीलंकाको सबैभन्दा कम स्कोर भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४३ रन हो।


