अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर्ससँग छलफल गरेका छन्। सोमबार मन्त्रालयमा भएको छलफलमा डा महतले पछिल्लो समय बढ्दो ब्याजदर र तरलताका विषयमा बैंकर्स संघका पदाधिकारीहरुसँग चासो राखेका छन्।
भेटघाटका क्रममा महतले ब्याजदर घटाउन र कर्जा प्रवाहको अवस्था सहज बनाउन आग्रह गरेका थिए। कर्जा प्रवाह बढ्न नसक्दा व्यवसायिक गतिविधिमा संकुचन आएको गुनासो उद्योग/व्यवसायीहरुले गरेका थिए। राजस्वमा नकारात्मक प्रभावसमेत परेको उल्लेख गर्दैअर्थमन्त्री महतले मिलेर अघि बढ्न सकिने बताएका थिए।
अर्थतन्त्रमा देखिएको पछिल्ला समस्या र बैंकहरुको भूमिकाबारे अर्थमन्त्री डा. महतले बैंकर्स छलफल गरेको बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए।
‘बैंकिङ प्रणालीमा देखिएका समस्याका बारेमा अर्थमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो’, केसीले भने ‘ब्याजदर र तरलता अभावको विषयमा पनि छलफल भयो। हामीले बैंकिङ प्रणालीमा अझैपनि तरलताको अवस्था सहज नभइसकेको, ब्याजदर घट्नेक्रममा रहेपनि खराब कर्जा बढेकाले संयमित भएर काम गर्नुपर्ने अवस्था रहेको जानकारी उहाँलाई गरायौं।’
अर्थमन्त्री भएसँगै महतले निजी क्षेत्रका संघसंस्थासँगको छलफललाई तीव्र बनाएका छन्। यसअघि उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, सेयर लगानीकर्ता र धितोपत्र बोर्डका पदाधिकारीसँग समेत छलफल गरेका थिए।


