काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गरिने बताएका छन्।
विश्व पर्यटन दिवसको अवसरमा साथसाथैले आयोजना गरेको राष्ट्रिय सम्मेलनका क्रममा गरिएको अन्तक्रिया कार्यक्रममा बोल्दै पर्यटनमन्त्री किराँतीले सरकारले पर्यटक आकर्षण गर्नका लागि सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गराइने बताएका हुन्।
‘हामीले पर्यटन प्रवर्द्धन गर्नुपर्छ भन्छौं तर, यसका लागि कस्तो नीति बनाएका छौं भन्ने कुरातिर ध्यान दिन सकेका छैनौं। त्यसकारण हामीले पर्यटन आकर्षण गर्नका लागि हामीले विभिन्न योजनाहरु बनाइरहेका छौँ,’ उनले थपे, ‘जस अन्तर्गत सगरमाथाको ८ हजार मिटर माथिको उचाईबाट डबल दस्तुर लिएर प्याराग्लाइडिङ गराउनका लागि नियमावली अन्तिम चरणमा छ। अब क्याबिनेटबाट पारित हुनेबित्तिकै लागु हुन्छ।’
नेपालको ऐन कानुन र भएका पूर्वाधारको सदुपयोग र नयाँ पूर्वाधारको निर्माणलगायतका कुराहरुले चुनौती सिर्जना गरेको उनको भनाइ छ।
सरकार जादुको छडी नभएको तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउन लागेको बताएका उनले सोच र सही दृष्टिकोण महत्वपूर्ण हुने उल्लेख गरे।
नेपालले पर्यटनको मुख्य आधार यातायात भएकोले नेपाल सरकारले जहाज किन्ने निर्णय गर्न लागेको पनि जानकारी गराए।
‘हामी जहाज किन्ने निर्णय गर्दैछौं। सस्तोदरमा मानिसले आवतजावत गर्न सकेको अवस्थामा पनि हाम्रो पर्यटनमा ठूलो योगदान गर्नेछ,’ उनले थपे।
सरकार बदलिरहने प्रवृत्तिले गर्दा दीर्घकालीन योजनाका काम नहुँदा समस्या भएको पर्यटनमन्त्री किराँतीले बताए। अहिले ढिलो भए पनि आत्तिहाल्नुपर्ने स्थिति भने नभएको उनको टिप्पणी छ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले सुन्दर मुलुकको पर्यटन प्रवर्द्धन गर्न सकेन ठूलो योगदान हुने बताए।
नेपाली कांग्रेसका सांसदसमेत रहेका राज्य व्यवस्था समितिका सभापति खतिवडाले पर्यटनमन्त्रीलाई नेपालको पर्यटन विकासमा महत्वपूर्ण काम गर्नका केन्द्रित हुनका लागि शुभकामना दिए।
‘हामीले जहाज ल्याउन सकेका छैनौं। तपाई चीनबाट र भारतबाट मात्रै पर्यटक ल्याउन सक्यौं भने पनि हामीले पर्यटन विकासलाई सार्थक बनाउन सक्छौं। तपाईलाई शुभकामना,’ उनको भनाइ थियो।
विश्व पर्यटन दिवसको अवसरमा आयोजित राष्ट्रिय पर्यटन सम्मेलनका क्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आयोजक संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको सबैभन्दा विनाशकारी असर पर्यटन व्यवसायमा परेको बताए।
पर्यटन क्षेत्रको दीर्घकालिन विकासका लागि हामीले व्यक्तिगत, सामाजिक र राष्ट्रिय स्तरमा नयाँ संस्कार र परिपाटीको शुरुवात गर्न आवश्यक रहेको बताए।
समग्र पर्यटनको योजना र रणनीति बनाउँदा हामीले आन्तरिक पर्यटन प्रर्वद्धनमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका उनले व्यक्तिगत तहदेखि राष्ट्रिय रुपमा नै संस्कारको विकास गर्नुपर्ने धारणा राखेका थिए।


