काठमाडौं- राजधानी काठमाडौंमै भएरपनि विकास र मूलप्रवाहबाट टाढा परेको शंकरापुर नगरपालिका ८ मणिचुडस्थित वनदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुले अब भने कम्प्युटर शिक्षा लिन पाउने भएका छन्।
काठमाडौंको चाबहिलदेखि करिब २० किलोमिटरको दूरीमा रहेको वनदेवी आधारभूत विद्यालयमा शतप्रतिशत तामाङ समुदायका विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा १५ थान कम्प्युटरसहितको अत्याधुनिक ल्याब सञ्चालनमा आएको छ । सफा सुनौलो नेपाल र लेटर डे सेन्ट च्यारिटीको आर्थिक सहयोगमा बनेको सो कम्युटर ल्याबको कांग्रेस नेता डा.शेखर कोइरालाले बुधबार उद्घाटन गरेका हुन्।

समाजसेवी स्व.राकेश हमालको स्मृतिमा सो विद्यालयमा ६ कोठे सुविधासम्पन्न भवन पनि गत वर्षदेखि सञ्चालनमा आइसकेको छ । कम्युटर ल्याब र स्व.हमालको अर्धकदको सालिक अनावरण कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सुरेन्द्रराज आचार्यले विद्यालयको स्तरोन्नतिमा सरकारले थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन्।
सफा सुनौलो नेपालकी महासचिव सुनिला हमालले काठमाडौंकै कर्णालीका रुपमा रहेको मणिचुड क्षेत्रका तामाङ विद्यार्थीहरुको शिक्षाका लागि संस्थाले विभिन्न सहयोग कार्यक्रम निरन्तर राख्ने बताइन्। उनले सो विद्यालयका विद्यार्थीहरुका लागि बस र बाटोको टड्कारो आवश्यकता रहेको बताइन् । समुद्री सतहदेखि २ हजार २ सय मिटर उचाईमा रहेको सो विद्यालयमा पढ्न आसपासका क्षेत्रबाट घण्टौ हिडेर विद्यार्थीहरु पुग्नुपर्ने बाध्यता रहेको छ।
सफा सुनौलो नेपालले सो विद्यालयमा ६ कोठे पक्की भवन, कम्युटर ल्याब र बालविकास कक्षका लागि आवश्यक अध्ययन एवं खेलसामाग्रीसमेत उपलब्ध गराएको छ।


