काठमाडौँ- नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको छ।
मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी नेपालगञ्ज उपमहानगरपालिकाभर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले कर्फ्यू जारी गरेका हुन्।
पछिल्लो समय नेपालगञ्जमा धार्मिक सद्भाव खल्बलिएकाले स्थिति शान्त नहुञ्जेलका लागि कर्फ्यू आदेश जारी गरिएको उनले बताए।
‘सार्वजनिक सम्पत्तिमा तोडफोड, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन सक्ने भएकाले भेला गर्न, सभा समारोह गर्न, जुलुस, र्याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी कर्फ्यु आदेश जारी गरिएको छ,’ प्रजिअ आचार्यले भने। स्थिति नियन्त्रणका लागि प्रयास भइरहेको उनको भनाइ छ।

सामाजिक सञ्जालमा लेखिएको प्रतिक्रियापछि मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनपछिको परिस्थिति र ॐकार समाज हिन्दु परिवारले निकाले। मङ्गलबार ॐकारको र्यालीको क्रममा विवाद भई तोडफोड, सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
नेपालगञ्जका उपमेयर कमरुद्दीन राईका अनुसार एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम समुदायले गाई काटेको भनेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि नेपालगञ्ज अशान्त बनेको हो। उनका अनुसार उक्त कुरालाई इस्लाम धर्मगुरुले प्रतिवाद गरेका थिए। यसपछि नेपालगञ्ज अशान्त बन्दै आएको राईले बताए।
उक्त पोस्टले इस्लाम धर्ममा आस्था राख्नेहरूलाई चोट पुर्याएको भन्दै दुई दिनअघि नेपालगञ्जमा टायर बालेर उनीहरूले जिल्ला प्रशासनअघि नाराबाजी गरेका थिए। प्रतिवादमा मंगलबार हिन्दू धर्ममा आस्था राख्नेहरूले प्रर्दशन गरे। दुई दिनदेखि सहरमा नाराबाजी भइरहेको छ।
नेपालगञ्जका मेयर प्रशान्त विष्टले ओमकार परिवारले प्रदर्शन गरेको उल्लेख गरे। ‘बिहान ओमकार परिवारको र्याली थियो। त्यसपछि तोडफोड र हुलदंगा भयो,’ विष्टले भने, ‘र्याली ठूलो थियो। र्यालीमाथि भयो कि र्यालीले गर्यो छुट्याउन सक्ने अवस्था नै भएन। कर्फ्यू लागेपनि अहिले पनि अवस्था चिन्ताजनक नै छ।’
‘स्थितिलाई सहज बनाउने प्रयास भइरकहेको छ,’ विष्टले भने। त्यसरी पोस्ट गर्ने व्यक्तिलाई प्रशासनले खोजे पनि फरार रहेको उनको भनाइ छ। ती व्यक्ति भारततिर भागेको हुन सक्ने उनको आशंका छ।
त्यसअघि सामाजिक सद्भाव खल्बलिने संकेत देखिएपछि मंगलबार बिहान नेपालगञ्जको बीपीचोकबाट सामाजिक सद्भाव र्याली निकालिएको थियो।
सद्भाव र्याली धम्बोझी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा विभिन्न धर्माका अनुयायी, राजनीतिक कर्मी, नागरिक समाज सम्मिलित अगुवा उपस्थित थिए।
कोणसभामा नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूल पुरोहित चन्द्रनाथ योगी, मुस्लिम धर्म गुरु मौलाना जब्बार मञ्जरीलगायतले सम्बोधन गर्दै समाजमा भाइचारा कायम राख्न आग्रह गरेका थिए।
नेपालगञ्जमा कर्फ्यूको आदेश जारी भएपछि उक्त क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद धवल शम्शेर जबराले दुई समुदायका बीचमा झडप भएर कर्फ्यू लागेको बताएका छन्।
मोबाइलबाट सामाजिक सद्भाव खलबलिएको बताएका थिए। ‘हिंसाका घटना कन्ट्रोल ल्याउनुपर्छ। समस्याको जड मोबाइल हो,’ उनले भनेका छन्, ‘साइबर क्राइमलाई एक्सनमा ल्याएर दोषीलाई कारबाही गर्नुपर्छ। होइन भने देशभर दंगा फैलन सक्छ।’
सामाजिक सद्भाव नखल्बल्याउन नेपालगञ्जका दुवै समुदायलाई उनले अनुरोध गरेका छन्।


