काठमाडौँ- बझाङमा भूकम्पपछिको सुख्खा पहिरोमा परेर मंगलबारदेखि बेपत्ता भएकी महिलाको शव फेला परेको छ।
टिमुर टिप्न मंगलबार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनमति धामीको शव बुधबार प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका इन्स्पेक्टर दीपेश चौधरीले जानकारी दिए।
इन्स्पेक्टर चौधरीको नेतृत्वमा उनको खोजीका लागि टोली खटिएको र पहिरोमा च्यापिएको अवस्थामा फेला परेको जानकारी उनले दिए।
भूकम्पबाट बझाङमा मात्रै हालसम्म ३३६ भौतिक संरचनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए। यद्यपि क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए।
भूकम्पमा परी १८ जना घाइते भएका छन्। १० जना उपचारपछि घर फर्किसकेका छन्। दुई जनालाई जिल्ला अस्पतालमा राखेर उपचार भैरहेको छ भने बाँकीलाई हात तथा खुट्टामा लागेको चोटको कारण थप उपचारको लागि जिल्लाबाहिर पठाइएको छ।
घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थडचिर गाउँपालिकाका विद्यार्थी र स्थानीय रहेका छन्।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको आधा घण्टा नपुग्दै ३ बजेर ६ मिनेटमा गएको झन् ठूलो ६.३ म्याग्निच्युडको भूकम्पले धेरै भौतिक संरचनामा क्षति पुर्याएको छ।
भूकम्पका कारण घर,सरकारी कार्यालय,विद्यालयका भवनमा क्षति पुग्नाका साथै त्यसपछि गएको सुख्खा पहिरोको कारण राजमार्ग समेत अवरुद्ध भएको छ।
‘भूकम्पपछि भिरालो जमिनमा गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग मंगलबार राति खुलाइएको थियो,अहिले पुन अवरुद्ध बनेको छ। जयपृथ्वीको माल्लालाग्ना भीर र छबिस पाथीभेराको जालेबगरमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो। प्रहरीले पहिरो पन्छाउने कार्य गरिरहेका छन्। राजमार्ग सँगै २१ वटा सरकारी संरचना सहित ३ सय ३६ वटा भौतिक संरचनामा क्षति पुगेको विवरण आएको छ,’ पाण्डेले भने।
सुरुको भूकम्पपछि स्थानीय सतर्क भएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको अधिकारीहरुले जनाएका छन्। तर, भूकम्पले छिमेकी जिल्ला बाजुरा, दार्चुला, बैतडि लगायतका जिल्लामा भौतिक क्षति गरेको छ।
बाजुराका खप्तड छेडेदह गाउँपालिका, बुढीगंगा र बडीमालिका नगरपालिकालगायत क्षेत्रका थुप्रै घर तथा भवनमा आशिंक र पूर्ण क्षति गरेको बताइएको छ।
बैतडीमा पनि दुई जना घाइते भएका छन्। माथिबाट खसेको ढुंगा लागेर डिलासैनी र सिगास गाउँपालिकामा एक/एक जना घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पले सिगास, डिलासैनी गाउँपालिका, पुर्चौडी र पाटन नगरपालिकामा दर्जनभन्दा बढी घर र विद्यालयका भवन चर्किएको छ।
दार्चुलाको मार्मा गाउँपालिकामा वडा कार्यालय, विद्यालय भवनलगायतका संरचनामा क्षति पुगेको छ।
बाजुरा भूकम्प र त्यसपछिको परकम्पका कारण भएको क्षतिको विवरण संकलन, उद्धार र राहत लगायतका कार्य भैरहेको अधिकारीहरुले जनाएका छन्।


