नेपालगन्ज — जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जको नगर क्षेत्रमा लगाएको कर्फ्यु यथावत राख्ने जानकारी दिएको छ। प्रशासनले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न सबैमा अनुरोध गरेको छ। बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन अनुरोध गरेको हो।
‘नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्रीहरु प्रचार–प्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।
साथै, प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न, सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत आग्रह गरेको छ।
बाँकेको नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको थियो।


