काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन्। समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरू अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे।
‘मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन्। त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौँ,’ उनले भने।
मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक छ।’
उनले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गरे।
‘समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरूपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिक रुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ। यस्ता प्रचलनहरू अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन्।’
उनले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दुःखमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गरे। -रासस


