काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्।
एमालेको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएपछि ओलीले कार्कीलाई भेट गरेका हुन्।
भेटका लागि कार्की आइतबार बिहान भक्तपुर बालकोटस्थित ओलीनिवास पुगेका थिए। भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी थिए।
एमालेको समर्थनमा आफू मुख्यमन्त्री बनेकाले कार्कीले ओलीलाई धन्यवाद दिएको आचार्यको भनाइ छ।
‘ओलीजी र मुख्यमन्त्री कार्कीबीच छोटो भेट भयो। भेटमा विस्तृत कुराकानी भएन,’ आचार्यले भने, ‘केदारजीले धन्यवाद दिनुभयो, ओलीजीले शुभकामना।’
एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कोशी प्रदेशमा बहुमत (४७) जुटाएर शेखर कोइराला पक्षका कार्की मुख्यमन्त्री बनेका हुन्।


