काठमाडौं- गत असोज २१ गते गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म नेपाली १० जना विद्यार्थीहरू सहित ३७०० मानिसको मृत्यु भइसकेको छ।
हमासले गरेको उक्त आक्रमणमा परी इजरायलमा १२०० भन्दा बढीले ज्यान गुमायका छन् भने इजरायलले गरेको जवाफी हमलामा गाजा सहरमा पनि २५०० भन्दा बढी मानिस मारिएका छन्।

नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपालीको पनि नृशंस हत्या गरिएको छ। हजारौं घाइते भएका छन्। इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।
द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए। इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ।
इजरायल र गाजाको अहिलेको विध्वंसात्मक हमला यतिकै भएको होइन। यसको सम्बन्ध निकै पुरानो छ। यस किसिमका हमला विगतमा पनि पटक-पटक हुँदै आएका छन्। यी दुई बीच मुख्यगरी जेरुसेलम, सिमाना, भूमि, यहुदी बसोबास र प्यालेस्टाइनी शरणार्थीको मुद्दामा विवाद रहेको छ।
इजरायलले संयुक्त राष्ट्रसंघबाट सदस्य राष्ट्रको मान्यता पाइसकेको भए तापनि प्यालेस्टाइन पूर्ण सदस्ययता भने पाएको छैन।
प्यालेस्टाइन स्वतन्त्र राष्ट्रको रूपमा मान्यता पाउन संघर्षरत छ। संयुक्त राष्ट्रसंघ लगायतका विश्वका थुप्रै राष्ट्रले इजरायल र प्यालेस्टाइनलाई छुट्टाछुट्टै राज्यको रूपमा मान्यता दिन प्रयासरत रहेको भएतापनि अहिलेको अतिवादी इजरायली सत्ताले यो स्वीकार्न चाहँदैन। उसले पूरै भूमिलाई इजरायल बनाउन खोजिरहेको छ।
सो युद्धका कारण गाजा क्षेत्रका विभिन्न शहरहरूमा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठूलो संकट देखिएको र लाखौं मानिस गाजाबाट विस्थापित समेत भएका छन्। इजरायलको किबूत क्षेत्रको सडकमा कारहरु जलेर खरानी भएको, घरहरूमा रकेट प्रहारबाट क्षति पुगेको समेत देख्न सकिन्छ।






