काठमाडौँ- इजरालयमा हमास समूहको आक्रमणमा परी मारिएका थप दुई जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले थप दुई नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।
उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही-६ धनुषाका आनन्द साह छन्।
सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ।’
यो सँगै इजरायलमा मारिएका १० जना नेपालीकै शव पहिचान भएको छ।
यसअघि तीन जनाको शव पहिचान भएको थियो।
त्यसअघि नै ५ जनाको शव पहिचना गरी इजरायली पक्षले नेपाललाई शव हस्तान्तरण गरेको थियो।
१० मध्ये ५ जनाको शव आइपुगेको छ भने ५ जनाको शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण भएको थियो।
मारिनेमा नारायण प्रसाद न्यौपाने (कैलाली, घोडाघोडी–४), गणेश कुमार नेपाली (बझाङ, जयपृथ्वी–६), आशिष चौधरी (कैलाली, बौनिया–३), दिपेश राज विष्ट (दार्चुला, लेकम–५), आनन्द साह (धनुषा, सपही–६), राजेश कुमार स्वर्णकार (सुनसरी, मधुवन–१), राजन फुलारा (डोटी, पचनली–३), पदम थापा (डोटी, लामिखाल–८), प्रवेश भण्डारी (सल्यान, शारदा–३) र लोकेन्द्र सिं धामी (दार्चुला, मालिकार्जुन–४) रहेका छन्।
आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ अस्पतालबाट डिस्चार्ज भएका छन्।
घाइतेमध्ये एक जना नेपाल आइपुगिसकेका छन् र एक जना इजरायलको नेपाली दूतावासको हेरचाहमा रहेका छन्।
अक्टोबर ७ मा हमासको आक्रमणमा परेका विपीन जोशी हालसम्म सम्पर्कविहीन छन्।
उनलाई हमासले बन्धक बनाएको अनुमान सरकारले गरेको छ।



