काठमाडौंँ– काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाइएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गोली लागेर एक जना घाइते भएका छन्।
लागुऔषध कारोबारीले प्रहरीलाई गोली ताकेपछि आत्मसुरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
घाइते हुनेमा भारतीय नागरिक मोहम्मद करिम छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
करिमको दाहिने खुट्टामा गोली लागेको छ। कान्तिपुर अस्पतालमा उनको उपचार भइरहेको छ।
झापाको कचनकवल-८ का ३७ वर्षीय हर्क लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले दुई सय ग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ।
यस्तै पेस्तोल, तीन राउण्ड गोली र तराजु पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।


