तेलअबिब– इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले दाबी गरेको छ।
अक्टोबर ७ देखि बेपत्ता जोशी हमासको बन्धक बनेको इजरायलले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत् जानकारी गराएको हो।
यद्यपि उनी अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने चाहिँ खुल्न नसकेको इजरायलय सरकारले उल्लेख गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेको भनिएका जोशीको उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन्। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउँदछु,’ महामन्त्री शर्माले बिहीबार प्रतिनिधि सभा बैठकमा भने।
इजरायलयको प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित १२२ विदेशी नागरिक रहेको बताएको छ। तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् ।
हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७ जना नागरिकलाई बन्धक बनाएको छ।
हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२ जनालाई हमासले बन्धक बनाएको छ।
अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् । हमासले ११८ इजरायली नागरिकलाई बन्धक बनाएको इजरायली सरकारको भनाइ छ।
बन्धकमध्ये ५ जनालाई हमासले मुक्त गरेको छ। गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले छाडिदिएको थियो। २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका थिए।


