काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। एक करोड साढे ३१ लाख बिगो दाबीसहित अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आर्थिक वर्ष २०७५/७६ मा किसानलाई स्पेसिफिकेसन र सम्झौताविपरीत कम गुणस्तरका मिनिटिलरलगायतका उपकरण वितरण गरेर भ्रष्टाचार गरेको आरोप अख्तियारको छ।
आरोपपत्रमा अधिकारीसँगै भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी पनि भ्रष्टाचारमा संलग्न भएको उल्लेख छ।
अधिकारीले सम्झौता बमोजिम खरीद सम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी भुक्तानी सम्बन्धी टिप्पणी सदर गरी भुक्तानी गरेको आरोप छ।
तत्कालीन भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवालीले कम गुणस्तर र फरक ब्रान्डको यन्त्र उपकरण आपूर्तिकर्तालाई भुक्तानीका लागि सिफारिस गरेको आरोपपत्रमा उल्लेख छ।
त्यस्तै, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले आपूर्तिकर्ताले पेश गरेको कागजात जस्ताको तस्तै भुक्तानीका लागि पेस गरेको अभियोग छ।
आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले गुणस्तरको यकिन नगरी मिनिटिलर खरीद र वितरण गरेको भनी भुक्तानी माग गरेको पाइएको हो।


