काठमाडौँ- डा प्रकाशशरण महत अर्थमन्त्री बनेर आएपछि अर्थको टिम बनाउने गृहकार्य सुरु गरेका छन्। मन्त्रालयमा ल्याउने उच्च पदस्थ कर्मचारीका विषयमा अर्थमन्त्री डा महतले प्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग छलफलसमेत गरेका छन्। बुधबार मन्त्री महतले प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग छलफल गरेका थिए।
अर्थ मन्त्रालयमा सहसचिव भुपाल बराल ल्याएर आगामी आर्थिक वर्षको बजेट लेखनमा खटाउने डा महतको तयारी छ। यसअघि मन्त्रालय अन्तर्गतकै राजस्व व्यवस्थापन महाशाखामा रहेका बराललाई विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पठाएका थिए।
शेरबहादुर देउवा नेतृत्वमा अर्थमन्त्री बनेका जनार्दन शर्माले बराललाई अर्थ मन्त्रालयको बजेट तथा कार्याक्रम महाशाखामा ल्याएका थिए। आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन बजेट बनाउन भूमिका खेलेका बरालले बजेट रकमान्तरमा चित्त नबुझाएपछि उनलाई मन्त्रालयकै राजस्व व्यवस्थापन महाशाखा सरुवा गरिएको थियो।
बराललाई राजस्व व्यवस्थापन महाशाखामा सरुवा थमैती गरेपछि बजेट तथा कार्यक्रम महाशाखामा अनुभव कम भएका हालका भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढालाई ल्याइएको थियो। बराल राजस्व समूहका ‘क्याडर’ हुन्। उनी राजस्व अनुसन्धान विभागका महानिर्देशक समेत भइसकेका छन्।
सचिव बढुवाका तयारीमा रहेका बरालले सचिव बढुवाको चरणमा रहेकाले बजेट तथा कार्यक्रम महाशाखाभन्दा पनि अन्य कुनै महाशाखामा रहेर बजेट निर्माण सहयोग गर्ने इच्छा डा. महतसामु राखेको अर्थ मन्त्रालय स्रोत बताउँछ।
बरालसँगै हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रहेका अर्का सहसचिव उत्तरकुमार खत्रीलाई पनि अर्थ ल्याउने तयारी गरिएको छ। अर्थबाटै सरुवा गरिएका सहसचिव बाबुराम सुवेदीलाई पनि अर्थ मन्त्रालय ल्याउने तयारी डा महतको छ।
‘अहिलेको अवस्थामा त्यस्तो निर्णयले ‘मस्याकर’ हुन सक्छ। अर्थ मन्त्रालयका केही सहसचिव सरुवा गरेर काम गर्ने हो। बजेटपछि अहिले कायम भएकालाई सरुवा गर्न सकिन्छ,’ अर्थमन्त्रीलाई उद्धृत गर्दै स्रोतले नेपाल क्लिक्ससँग भन्यो।
तत्कालीन अर्थमन्त्री शर्माले कोशी प्रदेशको आर्थिक योजना तथा मामिला मन्त्रालयबाट सुमन दाहाललाई वित्तीय संघीयता समन्वय महाशाखा ल्याएर सुवेदीलाई आर्थिक नीति तथा विश्लेषण महाशाखामा सरुवा गराएका थिए। दुई महिना अगाडि उनलाई विष्णुप्रसाद पौडेलले राष्ट्रिय योजना आयोगमा सरुवा गर्दै महाशाखामा दाहाललाई ल्याएका थिए।
बरालले आफूलाई वैदेशिक सहायता समन्वय महाशाखा दिएर उत्तरकुमारलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिनका लागि आग्रह गरेको अर्थ मन्त्रालय स्रोत बताउँछ।
अर्थ मन्त्रालयले कर्मचारी सरुवाको थप सूची पनि तयार गरिरहेको छ। बजेट तथा कार्यक्रम महाशाखामा रहेका धनीराम शर्मालाई अर्थ मन्त्रालयमा नै राख्न मुख्यसचिव शंकरदास बैरागीले सक्रियता देखाएका छन्। शर्मा एमाले निकट भएपनि अर्थतन्त्रसम्बन्धी काम गरेको अनुभव भएकाले उनलाई मन्त्रालयमा राख्न मन्त्री महत पनि सकारात्मक छन्। बजेट महाशाखा बाहेक अन्य कुनै महाशाखामा राखेर काम गराउनुपर्ने पक्षमा मुख्यसचिव शंकरदास बैरागी छन्।
शर्माको जिम्मेवारी आफूले लिने भन्दै अर्थमन्त्री डा. महत तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत बैरागीले आग्रह गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोत बताउँछ। ‘धनीराम शर्मा एमाले निकट भएपनि उनलाई अर्थ मन्त्रालयभित्रै राख्ने पक्षमा मुख्यसचिवज्युले लबिइङ गर्नुभएको छ। बरु आफूले शर्मालाई सम्झाइबुझाइ गर्नेसम्म मुख्यसचिवज्युले भन्नुभएको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतको भनाइ छ।
बरालले आफूलाई वैदेशिक सहायता समन्वय महाशाखा दिएर उत्तरकुमारलाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिनका लागि आग्रह गरेको अर्थ मन्त्रालय स्रोत बताउँछ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएका बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्मा, प्रशासन महाशाखा प्रमुख लक्ष्मीप्रसाद निरौला, वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख झक्कप्रसाद आचार्यलाई सरुवा गर्नुपर्ने भन्दै बनाइएको सूची डा महतको टेबलमा पुगेको छ। शर्मालाई मन्त्रालयमा नै राख्ने भएपछि उक्त सूची थप परिवर्तन हुन सक्ने अर्थ मन्त्रालय स्रोत बताउँछ।
आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सुमन दाहाललाई सरुवाको तयारी गरिएको बताइएको छ। यद्यपि भुपाल बराललगायतले सुमन दाहाल भन्सार विभागको महानिर्देशक र कोशी प्रदेश आर्थिक मामिला सचिव समेत भएर काम गरिसकेकाले उनलाई मन्त्रालयमै थमौती गर्नुपर्ने पक्षमा छन्। दाहाललाई बजेट निर्माणको टिमभित्रै राखेर काम गर्नुपर्नेमा सुझाव दिएको अर्थ मन्त्रालय स्रोत बताउँछ। मन्त्री महत आजभोलि नै सरुवा गर्ने तयारीमा रहेको समेत मन्त्रालयले स्रोतको दाबी छ।
अर्थ मन्त्रालयभित्रका धेरै कर्मचारीलाई बाहिर पठाउने विषयमा भने डा महतले रुचि नदेखाएको मन्त्रालय स्रोतको दाबी छ। महत निकटहरुले भने बजेट तथा कार्यक्रम महाशाखा र राजस्व व्यवस्थापन महाशाखाबाहेक अन्य महाशाखामा अर्थबाहिरको क्याडर ल्याएपनि खासै फरक नपर्ने सुझाव दिएपनि महतले अर्थको टिम बढी चलाउँदा भद्रगोल हुने बताउने गरेका छन्।
‘अर्थ मन्त्रालयको कोर फङ्सन भनेकै बजेट तथा कार्यक्रम महाशाखा र राजस्व व्यवस्थापन महाशाखा हो। अन्य महाशाखामा अर्थभन्दा बाहिरको क्याडर ल्याउँदा नै प्रभावकारी नतिजा आउँछ। अन्तर्राष्ट्रिय आर्थिक साहयता समन्वयन महाशाखा, प्रशासन महाशाखा, कानुन तथा फैसला कार्यान्वयन महाशाखा,वित्तीय संघीयता तथा समन्वय महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा अर्थभन्दा बाहिरका क्याडर ल्याउँदा पनि नराम्रो नतिजा नआउने सुझाव हामीले दिएका छौं,’ अर्थ मन्त्रालय स्रोतले बतायो।
डा महतले भने संकटपूर्ण अवस्थामा ठूलो संख्यामा कर्मचारी हेरफेर गर्दा ‘मस्याकर’ (भद्रगोल) हुने ३/४ जनाभन्दा बढी सहसचिव सरुवा नगर्ने जवाफ दिएको स्रोतले बतायो। ‘अहिलेको अवस्थामा त्यस्तो निर्णयले ‘मस्याकर’ हुन सक्छ। अर्थ मन्त्रालयका केही सहसचिव सरुवा गरेर काम गर्ने हो। बजेटपछि अहिले कायम भएकालाई सरुवा गर्न सकिन्छ,’ अर्थमन्त्रीलाई उद्धृत गर्दै स्रोतले नेपाल क्लिक्ससँग भन्यो।
सहसचिवहरुसँगै अर्थसचिव र राजस्व सचिव पनि फर्ने पक्षमा मन्त्री महत छन्। हाल अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा डा रामप्रसाद घिमिरे छन्। उनीहरूको व्यवस्थापन गरेपछि सचिव फेर्ने डा महतको तयारी छ।
मन्त्रालयमा सचिव बनाएर ल्याउने व्यक्तिको सूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हालै सरुवा भएका बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासनका कृष्णहरी पुष्करलाई राखिएको छ। पुष्कर हाल अमेरिका भ्रमणमा भएपनि उनले अर्थसचिवका लागि तीव्र रुपमा लबिइङ गरिरहेका छन्। यद्यपि डा महत भने अर्याल र भण्डारीमध्ये एकलाई अर्थसचिव बनाएर मन्त्रालय ल्याउने पक्षमा रहेको स्रोतको भनाइ छ।



