काठमाडौँ- उद्योगी विनोद चौधरीको अध्यक्षतामा रहेको चौधरी फाउन्डेसनले भूकम्पपीडित ५० परिवारका लागि अस्थायी घर बनाइदिने भएको छ। कांग्रेसका सांसद समेत रहेका चौधरीको फाउन्डेसन र रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिकाका प्रमुख पुष्पवादीबीच यस्तो सहमति भएको हो।
मंगलबार बिहान फाउन्डेसन र वादीबीच भएको छलफलपछि यस्तो सहमति भएको विनोद चौधरीले जानकरी दिएका छन्।
‘चौधरी फाउन्डेसन भूकम्पबाट घर गुमाउनु भएका पश्चिम रूकुम चौरजहारी नगरपालिकाका ५० परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय लिएको छ,’ चौधरीले फेसबुकमा लेखेका छन्, ‘चौधरी फाउण्डेसनका प्रतिनिधि र उक्त नगरपालिकाका मेयर पुष्प बादीबीच आज विहानको बैठकबाट यो सहमति भएको हो।’
फाउन्डेसन नगरपालिकासँगको समन्वयमा यो काम गर्ने पनि जानकारी चौधरीले दिएका छन्। घरविहीनका लागि मात्र यस्तो घर निर्माण गरिने पनि चौधरी फाउन्डेसनको भनाइ छ। यसका लागि यथासम्भव छिटो काम सुरु गरिने वादीले बताए।
फाउन्डेसनले २०७२ सालको भूकम्पका बेला पनि घरबारविहीनका लागि यस्तै प्रकृतिका अस्थायी घर (ट्रान्जिसनल सेल्टर) निर्माण गरेको थियो।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने तीनसय भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेको काठमाडौँ, बाँके, सुर्खेत र जाजरकोटमा उपचार भइरहेको छ। भूकम्पबाट एक हजार भन्दा बढी घर पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयको प्रारभ्मिक विवरणले देखाएको छ।


