मकवानपुर- अखिल नेपाल फुटबल संघ(एन्फा)को विशेष साधारणसभा हेटौंडाको रोयल पार्टी प्यालेसमा बिहीबार सुरु हुँदैछ। साधारणसभामा एक वर्षअघि निर्वाचित अध्यक्ष पंकजविक्रम नेम्बाङले अविश्वासको प्रस्ताव फेस गर्न पर्ने भएको छ। उनी एन्फा इतिहासमा अविश्वासको प्रस्ताव पर्ने पहिलो अध्यक्ष हुन्।
असोज १७ गते बसेको एन्फाको आपत्कालीन बैठकले मकवानपुरमा साधारणसभा बोलाएको थियो। एन्फाले भाद्र २४ गते अडिटर नियुक्तिका लागि आयोजना गरेको भर्चुअल विशेष साधारणसभा बहुमत सदस्यले बहिष्कार गरेका थिए। पछि कोरम नपुगेको भन्दै स्थगित भएको थियो।
भाद्र २५ गते एन्फाले पुनः विशेष साधारणसभा बोलाएको थियो। तर, एन्फाको उक्त निर्णय विधानविपरित रहेको भन्दै असन्तुष्ट पक्ष उपस्थित भएनन्। सोही दिन असन्तुष्ट पक्षले १९ आरोपसहित अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तगीको प्रस्ताव राख्दै ३० दिनभित्र विशेष साधारणसभाको माग राखेका थिए।
एन्फामा कुल १०५ सदस्य भए पनि साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहने वैधानिक व्यवस्था छ। अध्यक्षले नै अविश्वासको प्रस्ताव सामना गर्ने भएपछि अध्यक्षता कस्ले गर्ने निर्णय भएको छैन।


