काठमाडौँ- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि भारतविरुद्ध हुने खेलमा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको छ।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आइतबार दिउँसो सवा २ बजे सुरू हुने खेलमा भारतले पहिले ब्याटिङ गर्ने भएको हो।
न्युजिल्यान्डलाई हराउँदै भारत फाइनल पुगेको हो भने दक्षिण अफ्रिकालाई हराएर अस्ट्रेलियाले फाइनल यात्रा गरेको हो।
विश्वकपको लिग चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि भारत अपराजित छ।
अस्ट्रेलिया लिग चरणमा २ खेल हारेको थियो। विश्वकपको इतिहासले भारतभन्दा अस्ट्रेलिया बलियो देखाउँछ।
अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितिसकेको छ।
भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेता बनेको थियो।


