बारा- बाराको पचरौता नगरपालिका–७ बनौलीमा सोमबार रातभर जसो दुई पक्षबीच झडप भएको छ। झण्डामेला लगाउने विषयमा स्थानीयबीच झडप भएको हो।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ। सोमबार साँझदेखि मेलाका विषयलाई लिएर विवाद सुरु भएको थियो। विवादले उग्र रुप लिएर राति ११ बजे दुई पक्षबीच ढुङ्गा हानाहान भएपछि प्रहरीले २ राउन्ड हवाई फायर खोलेको थियो।
यसपछि केही समयका लागि साम्य भएपनि रातभर पटकपटक झडप भएपछि हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जानकारी दिए।
झडपमा परी २ जना घाइते भएका छन्। पचरौता नगरपालिका–७ बनौलीका ४० वर्षीया लक्ष्मी पटेल र ४२ वर्षीया चण्डीका पटेल छन्।


