सिरहा- सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक घाइते भएका छन्। सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँचोकमा दुई मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।
बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ। थप एक जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिरहाको अर्नामा गाउँपालिका-५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले बताएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएको थियो। उनीहरूको अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका १५ वर्षीय युवराज कुमार यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।


