दुबई- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन्। संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी भएपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकमतामा परेको उल्लेख गरे। प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको बताए।
जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै महत्व दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले वर्तमान युवा पुस्ता र भावी सन्ततिको जीवनका लागि आफू गम्भीर बनेको जिकिर गरे।जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्तिबापत नेपालले विशेष प्राथमिकता पाउनुपर्ने अधिकार राख्छ भन्ने कुरा विस्तारै स्थापित हुने प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले डिसेम्बर २ तारिक अर्थात भोलि सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डले देशको वातावरणीय अवस्था, नयाँ योजना कार्यान्वयनलगायतका विषयमा सम्बोधनमा उल्लेख गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
कोप २८ सम्मेलनको उद्घाटन सत्र आज सम्पन्न भएको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमै जलवायु परिवर्तनको सबैभन्दा ठूलो प्रभाव नेपाल र अन्टार्कटिकामा परेको उल्लेख गरेका थिए।
औद्योगिक राष्ट्रहरुको अत्यधिक कार्बन उत्सर्जनबाट मार खेपिरहेका राष्ट्रहरुले भने क्षतिपूर्तिलाई आफ्नो मुख्य एजेण्डाको रुपमा राखिरहेका छन्।
यसैबीच दुबईमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले गत कात्तिक १७ गते जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पुगेको क्षति तथा भारतले गर्नुपर्ने सहयोगका बारेमा कुरा भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुइल म्यारियो डायज क्यानेली मिगुल मारियो डियाज कान्लीबीच पनि आजै भेटवार्ता भएको छ । भेटवार्तामा दुइपक्षीय हितका बारेमा कुराकानी भएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल मंसिर १३ गते दुबई प्रस्थान गरेको हो। प्रधानमन्त्री १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।


