काठमाडौँ- काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ। शुक्रबार मात्र १४ किलो सुन बरामद भएको विमानस्थलबाट फेरि सुन बरामद भएको हो।
आइतबार भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले साढे ६ किलो ५६५ ग्राम सुन बरामद गरेको छ। सुनसहित दुई जना विदेशी पनि पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले फ्लाइ दुबईको जहाजमा आएका यात्रुको साथबाट गए राति साढे ६ केजी सुन बरामद गरिएको हो। हाफ ज्याकेटमा खल्ती बनाएर ६ थान बिस्कुटजस्तो अर्ध ठोस अवस्थाको सुन बरामद गरिएको गरिएको उनको भनाइ छ।
पक्राउ पर्नेमा सुन बोक्ने ३२ वर्षीय इजिप्टका नागरिक सेरिफ मोहम्मद मोहम्मद ल्यासिन छन्। उनीसँगै सुडानी नागरिक पनि पक्राउ परेका छन्। उनी शंकास्पद भएकाले पक्राउ परेको तर संलग्नताका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। बरामद सुन र व्यक्तिलाई विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।
यसअघि गत शुक्रबार पनि विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो। सुनसहित गोरखाका चन्द्र घलेलाई प्रहरीले पक्राउ गरेको थियो। यी दुवै पटकका सुन दुबईबाट आएका हुन्। त्यसमा पनि फ्लाई दुबईकै जहाज एफजेड ५७३ बाट दुवै पटक सुन आएको प्रहरीको भनाइ छ।


