काठमाडौं– अहिलेसम्म इन्डियन प्रिमियर लिग (आईपिएल) का चार टिमले समान ३–३ खेल खेलेका छन् भने बाँकी टिमले दुई-दुई खेल खेलेका छन्।
लिगमा शनिबार(हिजो) राति दुईवटा खेल भए। योसँगै तेस्रो चरणका खेल सुरु भइसकेका छन्। लिग सुरुआतमै केही खेलाडीले शानदार प्रदर्शन गरिरहेका छन्। उनीहरु ओरेन्ज क्याप र पर्पल क्यापको दौडमा समेत होमिएको आभास हुन्छ। आईपिएलमा धेरै रनबनाउने खेलाडीलाई ओरेन्ज क्यापले सम्मान गरिन्छ भने धेरै विकेट लिने खेलाडीलाई पर्पल क्यापले सम्मान गरिन्छ।
ब्याटिङतर्फ यसरी सानदार प्रदर्शन गर्ने खेलाडीको शीर्षस्थानमा छन्, चेन्नई सुपर किंग्सका रितुराज गायक्वड। उनले तीन खेलमा १८९ रन बनाइसकेका छन्।
अहिलेसम्म उनको सबैभन्दा उच्च स्कोर ९२ रन हो, जुन उनले गुजरात टाइटन्सविरुद्ध बनाएका थिए। त्यसपछि उनले लखनौं सुपर जायन्टविरुद्ध ५७ र मुम्बईविरुद्ध अविजित ४० रन बनाए।
आईपिएल लिडरबोर्डको दोस्रो स्थानमा डेबिड वार्नर रहेका छन्। उनले तीन खेलबाट १५८ रन बनाए। त्यस्तै जस बटलरले १५२ रन बनाएका छन् भने केली मायरले १३९ र शिखर धवनले दुई खेलबाटै १२६ रन जोडेका छन्।
अहिलेसम्म १०० रन पुरा गर्ने खेलाडीमा यसस्वी जैशवाल, तिलक वर्मा र विराट कोहली पनि छन्।
बलिङतर्फ आठ विकेट लिएका युजवेन्द्र चहलले आईपिएल पर्पल क्यापको लिड गरिरहेका छन्। उनले तीन खेलमा आठ विकेट लिएका छन्। चहलले पहिलो खेलमा हैदराबादविरुद्ध चार विकेट लिएका थिए। यता मार्क वुडले त दुई खेलमा नै आठ विकेट पुरा गरेका छन्। उनी लखनौंका खेलाडी हुन्।
आईपिएलमा रवि विश्नोइ(३खेल) ले ६ विकेट, वरुण चक्रवर्ती (२), रशिद खान (२), ट्रेन्ट बोल्ट (३), नाथन इलिस (२), मोहम्मद शामी (२), अर्षदिप सिंह (२) र तुशहर देशपान्डे (३) ले समान ५–५ विकेट लिएका छन्। उनीहरु क्रमशः चौथो देखि १० औं स्थानमा छन्।


