काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा खेलकुद बिमालेख जारी भएको छ। नेपाली खेलकुदको इतिहासमा पहिलोपटक खेलकुद बिमालेख जारी भएको हो।
बिमालेख जारी भएसँगै खेलाडी मनोबल बढाउने मद्दत पुग्ने विश्वास लिइएको छ। राखेप सदस्यसचिव टंकलाल घिसिङले २०७८ सालमा मंसिर १४ गते पदभार सम्हालेका दिन खेलकुद बीमालेखको सुरु गर्ने घोषणा गरेका थिए।
राखेपको प्रस्तावमा नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको हो। शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै राखेपले खेलकुद बीमालेख जारी भएको जनाएको हो।
खेलका क्रममा हुने चोटपटकदेखि ठूला दुर्घटना समेतको जोखिम न्युनीकरण गर्ने उद्देश्यले खेलकुद बीमालेख जारी भएको हो। सदस्यसचिव घिसिङले बीमालेखले खेलाडीहरूमा आत्मविश्वास भर्ने धारणा राखे।
अब सबै प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाइने उनको भनाइ छ।
बीमालेखको खेलहरूको वर्गीकरण मुख्य तीन प्रकारमा गरेको छ। बिमालेख अनुसार न्युन जोखिमको समूहमा टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीविल्डिङ, स्क्वास खेल पर्नेछन्।
सामान्य जोखिमको समूहमा ब्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्यास्टिक, ह्यान्डबल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती साईक्लिङ पर्छन्।
जोखिमयुक्त खेलको सूचीमा मोटर तथा मोटरसाइक्लिङ स्पोर्ट्स, र्याफ्टिङ एन्ड क्यानोई, क्वालाइबिङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउन्टेन रनिङ, आइस हक्की एन्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्बी, प्याराग्लाइडिङ र फुटबल छन्।
दुर्घटनाका कारण १८३ दिनभित्र निधन भएमा क्षतिपूर्तिको व्यवस्था बिमालेखमा गरिएको छ। राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा भएको दुर्घटनालाई पनि बीमालेखले कभर गर्ने घिसिङको भनाइ छ। कुनै खेलाडी दुर्घटनामा परे ३० दिनभित्र राखेपले बिमकलाई जानकारी गराउनुपर्ने बीमालेखमा उल्लेख छ।


