काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन दिन नपाएपछि आक्रोशित युवाले गरेको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको छ।
बालकुमारीमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका युवाको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको अस्पतालले जानकारी दिएको हो। मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन्।
अर्का एक जना गम्भीर घाइते छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध गर्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो। पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फारम भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए।
अदालतले उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो। तर ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। यसपछि अरु विद्यार्थीले आक्रोशित बनेका थिए।
ईपीएसको फारम भर्न गएका युवाले मन्त्रीको गाडीमा आगो लगाए [९ तस्बिर]


