काठमाडौँ- कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ।
उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजालसले शुक्रबार यस्तो आदेश जारी गरेको हो।
यससम्बन्धी रिटहरूमाथि सुनुवाइ गर्दै आवेदन दिन इच्छुक सबैलाई सामेल गराउन अदालतको आदेश छ। योसँगै पानीजहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउनुपर्ने भएको हो।
यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो। उनीहरूले शुक्रबार नै आवेदन दिइसकेका छन्। तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए।
आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।
मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यस क्रममा दुई जनाको मृत्यु भएको छ।


