काठमाडौँ- इन्दिरा आईभीएफले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफले बाँझोपनको समस्या समाधानका लागि काठमाडौंमा आफ्नो केन्द्र स्थापना गरेको जनाएको छ।
नेपालमा पनि बाँझोपनको समस्यासँग सामना गरिरहेका व्यक्तिहरूको समस्या समाधान गर्ने उदेश्यले केन्द्रको स्थापना गरिएको इन्दिरा आईभीएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बाँझोपनका कारण आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्युसंस्कार समेत प्राप्त नहुने जटिल चुनौतीहरूलाई मध्यनजर राखेर केन्द्र स्थापना गरिएको इन्दिरा आईभीएफले जनाएको छ।
इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईंले बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्दै त्यस्ता दम्पत्तिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्नु रहेको बताइन्।
इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य रहेको बताए।
इन्दिरा आईभीएफका सीईओ र सह-संस्थापक डा. क्षितिज मुर्दियाले आफ्ना सेवाहरू भारतभन्दा बाहिर विस्तार गर्न र उन्नत प्रजनन उपचारका लागि विश्वव्यापी पहलमा योगदान गर्न पाउँदा उत्साहित भएको बताए। नवीनतम प्रविधिबाट सफलताको दर मात्र बढाउँदैन, बरू बाँझोपनको सामना गरिरहेका जोडीहरूमा आशाको सञ्चार गराउने उनले बताए।
काठमाडौंमा इन्दिरा आईभीएफको स्थापनाले महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास आफूहरूले लिएको उनले बताए।


