काठमाडौं- नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गरेको निर्णय सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले उक्त जानकारी दिएका हुन्।
‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो। सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो,’ उनले भने, ‘क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं।’
यद्यपि एमालेले राष्ट्रिय सभामा गठबन्धन दलहरुसँग भाग भने मागिरहेको छ। संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगो लगाउनका लागि एमालेसमेतको सहयोग चाहिने भए राष्ट्रिय सभामा नएक्ल्याउन अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन्।
गठबन्धनमा एमालेलाई सिट दिने विषयमा छलफल पनि भएको छ। गठबन्धनमा नेकपा एस मात्र एमालेलाई सिट दिन हुन्न भन्ने पक्षमा छ। प्रचण्ड र कांग्रेस सभापति देउवा भने एमालेलाई जसरी भए पनि सिट दिएर फकाउनुपर्ने मुडमा छन्। दुई शीर्ष नेताको ग्रिन सिग्नल पाएको एमालेले ६ सिट आफूहरूलाई दिनुपर्ने माग गर्दै आएको छ। यद्यपि गठबन्धनले यसको ठोस निर्णय लिन बाँकी छ।
पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले तय गरेको छ। उम्मेदवारी दर्ता गरेपनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुअघि उम्मेदवारी फिर्ता लिने प्रक्रिया आउने भएकाले उक्त समयसम्म उम्मेदवारी फिर्ता लिन सकिने अवस्था हुन्छ।
विगतका निर्वाचनहरुलेमा उम्मेदवारी फिर्ता लिने समय सकिएपछि पनि दलहरुले उम्मेदवारी निष्क्रिय बनाउन निर्वाचन आयोगलाई आग्रह गर्ने र आयोगले पनि सोही अनुसार गरिदिने भएकाले मतदान गर्ने बेलासम्म पनि एमालेले भाग लिनका लागि प्रयास गरिरहने अभ्यास गर्न सक्ने आकलन छ।
फागुन २० मा पदावधि सकिने १९ सिटका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन हुँदैछ।


