विराटनगर- कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै आन्दोलन गर्दै आएका पहिचान पक्षधरसँग वार्ता गर्न कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो।
समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन्।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले समितिले वार्ता गरी निष्कर्ष निकाल्ने जानकारी दिए।
१७ फागुनमा प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले आन्दोलन गर्दै आएका थिए।
चैत ५ मा विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा लाजेहाङ (पदम) लिम्बू घाइते भएका थिए। चैत १० गते उपचारका क्रममा उनको निधन भएको थियो। उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ।


