काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्ने बताएका छन्।
युगाण्डाबाट आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको बताए।
उनले भने, ‘टीआरसी बारे सबै छलफल र तयारी गरेका छौँ। संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ। सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ। सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु। विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ। शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्छन्।’
अर्काे प्रसङ्गमा उनले रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको बताए । आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘रुस-युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।’
प्रधानमन्त्री युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्केका छन्।


