काठमाडौँ– ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैंकखातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको प्रष्टीकरण दिएको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको ‘स्लिप’सहित रविले गोर्खा मिडिया नेटवर्कबाट रकम लिएको विवरण प्रकाशन गरेको छ।
यस विषयमा प्रष्टीकरण दिन रविले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए।
‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौँ,’ बैंकले रविलाई उपलब्ध गराएको पत्रमा लेखिएको छ।
पत्रकार सम्मेलनमा पूर्वबैंकरसमेत रहेका रास्वपा नेता अनिलकेशरी साह उपस्थित थिए। साहका अनुसार कसैले चेक लिएर बैंक आयो भने त्यो लिएर रसिद दिइन्छ। तर, खातामा पैसा नभएको खण्डमा पैसा जम्मा हुँदैन।
‘रवि लामिछानेको केसमा मात्र होइन, यस्ता केस धेरै हुन्छन्। कसैले क्यास लिएर आए केही प्रश्न सोधिन्छ। चेकमा प्रश्न सोधिँदैन,’ शाहले भने, ‘टेलर काउन्टरमा गएर चेक जम्मा गर्न सकिन्छ। तर, पैसा खातामा नभएमा त्यो जम्मा हुँदैन र सम्बन्धित व्यक्तिको फोनमा घन्टी पनि बज्दैन।’
कान्तिपुर दैनिकको समाचारमा भने रविलाई एक करोड ८० लाख रुपैयाँ उपलब्ध गराइएको भन्दै उनको नाममा कायम भएको सेयर गोर्खा मिडिया नेटवर्कले फिर्ता लिएको थियो। उक्त सेयरमा थप दुई प्रतिशतसमेत गरी १७ प्रतिशत सेयर कुमार रम्तेललाई बिक्री गरिएको विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो।
रकम नै जम्मा नभएको स्लिप देखाएर रविको नाममा रकम जम्मा भएको स्लिप देखाएर सेयर नामसारी भएको देखिएकोले यो प्रक्रियामा गोर्खा मिडिया नेटवर्कको सेयर कारोबारबारे प्रश्न उब्जिएको छ।



