जनकपुरधाम- मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका दुई जना मन्त्रीले राजीनामा बुझाएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई उनीहरूले मंगलबार साँझ राजीनामा बुझाएका हुन्।
शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन्।
यसअघि जनमत पार्टीको संसदीय दलको बैठकले मधेश प्रदेशमा मुख्यमन्त्री यादव सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।
सोमबार सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका शिक्षामन्त्री यादवलगायत जनमतका नेताहरूमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।
विश्वविद्यालयको शिलान्यास जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गरेपछि जनमतका सांसदहरूले विरोध जनाएका थिए। सरकारको निर्देशनमा जनमत पार्टीका नेताहरूमाथि लाठी प्रहार गरी घाइते बनाएको र क्रूर तानाशाही कदम चालेको भन्दै राजीनामा बुझाएको जनमतका संसदीय दलका नेतासमेत रहेका यादवले बताए।
उता जनमतले भने किसानका लागि सकारात्मक कार्यक्रमहरू ल्याएर लोकप्रियता पाइरहेको बेला मन्त्रालय खोस्ने काम भएको प्रतिक्रिया जनाएको छ। पार्टीले स्वास्थ्य र खेलकुद क्षेत्रमा राम्ररी काम गर्न लाग्दा मन्त्रालयलाई पटकपटक फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालयमा सिमित गरिएको विज्ञप्तिमा भनिएको छ।
‘यी सबै कुरा गठबन्धनमा कुनै छलफल वा मन्त्रिपरिषदमा समेत कुनै प्रस्ताव नै नलगेर एकतर्फी र गोप्य ढंगले गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिपरिषदको बैठक प्राय: नबसी बिना कुनै छलफल नै एकल पार्टीको निजी सम्पत्तिझैं सरकारको काम कारबाही चल्ने गरेको, आफ्नै मन्त्रालयमा समेत सम्बन्धित मन्त्रीलाई कुनै निर्णय गर्न नदिएको वा निर्णयहरूको जानकारी समेत नगराउने गरेको, कुनै पनि काम गर्ने वातावरण नबनाएको, काम सकरात्मक र जनताको हितमा बढ्न लाग्दा पटकपटक मन्त्रालय फुटाएको यहाँसम्म कि आफ्नै मातहतको मधेस कृषि विश्वविद्यालयको शिलान्यसको विषयमा जानकारीसमेत दिएनन्।’


