काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनलाई काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरहरूले बहिष्कार गरेका छन्।
राष्ट्रिय सभाको निर्वाचनमा काठमाडौँका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङले बहिष्कार गरेका हुन्।
बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा उनीहरू मतदान गर्न गएनन्।
कोशीमा हर्कसँगै स्थानीय तहतर्फका तीन जना मतदाता मतदानमा सहभागी भएनन्।
मोरङको ग्रामथाङ गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले पनि मतदान गरेनन्।
गच्छदार शुक्रबार अकास्मात् बिरामी परेपछि विराटनगरस्थित नोबल अस्पतालमा उपचाररत भएकाले मतदान गर्न पाएनन्। शाह भ्रष्टाचार मुद्दामा मुछिएपछि निलम्बनमा छन्। दुवै जना कांग्रेसबाट विजयी जनप्रतिनिधि हुन्।
यता बागमतीमा ३४७ मतदाता रहेकोमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए। बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार बालेन कार्यव्यस्तताका कारण हेटौँडामा रहेको मतदान केन्द्रसम्म पुग्न नसकेका हुन्।
उता कर्णालीमा भने शतप्रतिशत मतदान भएको छ।
मतदान कार्यक्रम सकिएकाले केही घण्टामा नै मतगणना सकेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।


