काठमाडौँ- राष्ट्रियसभा निर्वाचनको मतपरिणाम बिहीबार साँझ ७ बजेसम्म सार्वजनिक गरिने निर्वाचन आयोगले बताएको छ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी परिणाम सार्वजनिक गरिने बताएका हुन्।
‘७ बजेसम्म निर्वाचनको परिणाम सार्वजनिक गर्ने हाम्रो तयारी छ, साढे ७ होला तर भोलि हुँदैन, आजै हुन्छ,’ थपलियाले भने।
राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको छ।
७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ।
राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।
कर्णाली प्रदेशमा शतप्रतिशत मतदान भएको आयोगले बताएको छ।


