काठमाडौँ- नेपालमा सहिदको संख्या १४ हजारभन्दा बढी पुगेका छन्।
मन्त्रिपरिषद्को निर्णय अनुसार सहिदको सूचीमा १४ हजार ६ सय ८० जनाको नाम समेट्न लागिएको हो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ११ हजार ४ सय १९ जनाको नाम राजपत्रमा छापिइसकेको छ।
अब ३ हजार २ सय ६१ सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
माघ १३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप तीन हजार जनालाई सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका थिए।
सहिद प्रतिष्ठान नेपालले काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
‘सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ। त्यसको तयारी भइरहेको छ। त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले सरकारले जनयुद्धमा बलिदान गर्नेलाई सहिद घोषणा गर्न छुटेका भए तत्काल सम्बोधन गर्नेसमेत बताए।
आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिद नछुटुन् भनेर विशेष ध्यान दिएको उनको भनाइ थियो।
थप ३ हजार जनालाई सहिद घोषणा गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री दाहाल


