काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप तीन हजार जनालाई सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।
शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
माओवादी जनयुद्धका क्रममा मारिएका करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्ने तयारी भइरहेको उनको भनाइ छ।
३ हजार जना सहिदको नामावलीका विषयमा निर्णय भई राजपत्रमा प्रकाशित गर्ने काम अघि बढेको उनले बताए।
‘सरकारले करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्दैछ। त्यसको तयारी भइरहेको छ। त्यो सूची गृह मन्त्रालयबाट प्रमाणित भइसकेको छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले सरकारले जनयुद्धमा बलिदान गर्नेलाई सहिद घोषणा गर्न छुटेका भए तत्काल सम्बोधन गर्नेसमेत बताए।
आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका सहिद नछुटुन् भनेर विशेष ध्यान दिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपत्ता भएकाहरुको योगदानलाई पनि सरकारले कदर गर्ने बताए।


