काठमाडौँ- निजी क्षेत्रका उद्योगी-व्यवसायीहरुले उद्यमी अरुण चौधरीलाई दोषी पक्राउको विरोध गरेका छन्। सरकारले हठात् उद्यमी चौधरीलाई पक्राउ गरेका घटनबाट आफूहरु ‘सक्ड’ भएको भन्दै निजी क्षेत्रले आपत्ति जनाएको छ।
चौधरीलाई पक्राउ गरिएको विरोधमा निजी क्षेत्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो बताएको हो। यसरी उद्यमी पक्राउ गरिँदा समग्र उद्योगी-व्यवसायीहरुको मानमर्दन हुने उनीहरुको जिकिर छ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीलाई धरपकड गर्नु राम्रो नभएको बताए।
‘लगानी सम्मेलनको तयारी भएको बेला अरुण चौधरी पक्राउ गर्नु राम्रो भएन। उनी भाग्ने मान्छे होइनन्। तर, दोषी नै भए जसरी पक्राउ गर्नुपर्ने थिएन,’ अग्रवालले भने।
देशको पूँजी निर्माणमा ७७ प्रतिशत योगदान निजी क्षेत्रको रहेको तर सरकारले भने अनुचित व्यवहार गरेको उनको दाबी थियो।
निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रलाई सरकारले पेल्दै ल्याएको बताए। निजी क्षेत्रको विकास नभई देश विकास नहुने उनको भनाइ थियो।
नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले चौधरी पकाउ परेको सुन्दा आफू ‘सक्ड’ भएको बताए।
‘अरुण चौधरी यो देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी हुनुहुन्छ, उहाँ देश छोडेर कतै जान लाग्नुभएको थिएन। तर आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको छ,’ पत्रकार सम्मेलनपछि निजी क्षेत्रका प्रतिनिधिहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ। यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको हामीले महशुस गरेका छौं’ निजी क्षेत्रको धारणामा भनिएको छ।
कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागीदार हुनुपर्छ भन्नेमा आफूहरुको विमति नभएको निजी क्षेत्रको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघले चौधरीलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएपनि पनि सरकार भने गम्भीर नभएको महासंघको धारणा छ।
पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको महासंघको ठहर छ।
केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएकाे छ।
यस्तो छ निजी क्षेत्रको धारणा
सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज दिउँसो हठात् रुपमा पक्राउ गरेको यहाँहरु सबैलाई अवगत भइसकेकै छ। यो पक्राउअघि न प्रहरीले कुनै सूचना दिएको थियो, न त अनुसन्धानका लागि बोलाएको नै थियो। अरुण चौधरी यो देशकै माटोमा हुर्किएका लब्धप्रतिष्ठित उद्यमी हुनुहुन्छ, उहाँ देश छोडेर कतै जान लाग्नुभएको थिएन। तर आज राज्यले एक व्यवसायीलाई मात्र नभएर सम्पूर्ण निजी क्षेत्रलाई नै त्रसित बनाउने गरी धरपकडशैलीमा पक्राउ गरेको छ। यसप्रति निजी क्षेत्रको घोर आपत्ति छ। यसले सम्पूर्ण उद्योगी-व्यवसायीको मानमर्दन भएको हामीले महशुस गरेका छौं।
मुलुकको आर्थिक विकासमा निजीक्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। देशको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७७% माथि छ। नेपाल सरकारले पनि निजी क्षेत्रको योगदानलाई महशुस गरी हाल नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेत सामेल गराउन थालेको छ, जसलाई हामीले सकारात्मक रुपमा नै लिएका छौं। आजको यस घटनाले सरकारले आर्थिक समृद्धिमा निजीक्षेत्रको उपदेयीतालाई उपेक्षा गरेको हो कि भन्ने सोच्न हामीलाई बाध्य तुल्याएको छ।
सरकारले एकातिर ठूलो महत्त्वाकांक्षाका साथ लगानी सम्मेलनको तयारी भइरहेको भन्ने र अर्कोतर्फ समानान्तररुपमा उद्योगी व्यवसायीहरुमाथि धरपकडको डन्डा बर्साइरहने हो भने यो द्वेद व्यवहारले विदेशी त के स्वदेशी लगानीकर्ता पनि सरकारको आश्वासनबाट तर्सने प्रष्ट छ। यसले लगानीको वातावरण विथोल्नेबाहेक अरु केही गर्दैन।
कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हाम्रो पनि विमत्ति छैन। नेपालको संविधानको धारा १६ (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक र धारा १७ (१) मा कानुनबमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने संवैधानिक प्रत्याभूति र धारा २० (५) मा कुनै अभियोग लागेको व्यक्तिलाई निजले गरेको कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने लगायतका संवैधानिक हक सुरक्षित गरिएको छ। तसर्थ, उचित र पर्याप्त कारण (Just and sufficient cause) भएको अवस्थाबाहेक अभियुक्तलाई शंकाकै भरमा उसको वैयक्तिक स्वतन्त्रताको हनन् हुने गरी पक्राउ गर्ने कार्य कुनै पनि दृष्टिकोणले न्यायसंगत देखिँदैन । धन्यवाद !
पत्रकार सम्मेलनका थप तस्बिर








