उदयपुर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जिकिर गरेका छन्।
प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको दाबी गरेका हुन्।
उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले राजस्व संकलनसमेत बढेको बताए।
‘अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिति तथा पर्यटकको आगमन वृद्धि भएको छ,’ उनले भने, ‘यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ।’
गाउँपालिका भवन ७ करोड ५० लाखको लागतमा निर्माण गरिएको हो। प्रधानमन्त्रीले रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताएका थिए।
संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै स्थानीय तहले जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
उनले बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झनेसमेत बताएका थिए।
शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास अगाडि बढ्ने उनको भनाइ थियो।


