काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दबाब यात्रा सुरु गर्ने भएको छ। निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्ने आजबाट गर्ने भएको हो।
रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् ।
दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् ।
रास्वपाको केन्द्रीय समितिको बैठकले प्रारम्भिक सूची सार्वजनिक गरेर दबाब यात्रा गर्न थालेको हो। पहिलो चरणमा रास्वपाले २७ आयोजना प्रारम्भिक सूचीमा रहेका छन्।
श्रीराम न्यौपाने, विपिन कुमार आचार्य,, प्रतिभा रावल, शिशिर खनाल, कृष्ण भेटुवाल र खुस्बु सरकार श्रेष्ठको कार्यदलले आयोजनाको विस्तृत अध्ययन गरेको छ। हरेक आयोजनाको अध्ययन गरेपछि मात्र रास्वपाले दबाब यात्रा गर्ने भएको हो।
दबाब कार्यक्रम गर्ने आयोजनाको प्रारम्भिक सूचीमा गल्छी–रसुवागढी सडक, धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन्। विभिन्न मितिमा ठेक्का लागे पनि निर्माण निकै सुस्त रहेका आयोजना छिटो पूरा गर्न दबाब दिने उद्देश्यले दबाब यात्रा गर्न लागेको हो।


