काठमाडौँ- न्याय परिषद्ले १२ जना न्यायाधीशको सरुवा गरेको छ। उच्च अदालतका तीन जना र बाँकी जिल्ला अदालतका गरी १२ जना न्यायाधीशको सरुवा गरिएको परिषदले जानकारी दिएको हो।
मंगलबार बसेको परिषद् बैठकले सुर्खेत उच्च अदालतका न्यायाधीश रामेश्वर रेग्मीलाई पाटन उच्च अदालत तानेको छ।
सुर्खेत उच्चकै अर्का न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत विराटनगरको इलाम इजलास पठाइएको छ।
तुलसीपुर उच्च अदालतको बुटवल इजलासका न्यायाधीश विष्णुप्रसाद अर्याललाई तुलसीपुर उच्च अदालतमा काजमा ल्याइएको छ।
यस्तै कास्कीका जिल्ला न्यायाधीश ऋषिराम आचार्यलाई ललितपुर जिल्ला अदालतमा तानिएको छ।
सुनसरीका हरिप्रसाद कोइरालालाई कास्की पठाइएको छ।
कास्कीका अवनी मैनालीको मकवानपुर पठाउँदा तेह्रथुमका प्रमेश पोखरेललाई पर्सामा सरुवा गरिएको छ।
रौतहटका तेजबहादुर खड्कालाई झापा र झापाका भीमबहादुर निरौलालाई तेह्रथुम जिल्ला अदालत पठाइएको परिषदले जानकारी दिएको छ।
डडेलधुराका न्यायाधीश दयाराम ढकाललाई चितवन तानिएको छ।
नवलपुरका बाबुराम सुवेदीलाई मोरङ र दाङका कुलप्रसाद पाण्डेलाई नवलपुर जिल्ला अदालतमा काज सरुवा गरिएको छ।
बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीलाई डडेल्धुरा जिल्ला अदालतको जिल्ला न्यायाधीशको हैसियतलेसमेत कामकाज गर्नेगरी तोक्न सिफारिस गरेको छ।




