काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगलाई कारबाही गर्न कसले रोकेको भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्। जग्गा कीर्ते, नागरिकता कीर्ते गर्ने, सहकारीका ठगहरुलाई कारबाही गर्न कसले रोकेको भन्दै उनले प्रश्न गरेका थिए। उनको प्रश्न भने नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित थियो।
‘सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि? सरकारमै भए जस्तो लाग्छ,’ उनले थपे, ‘लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ। राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ । रोकेछ चाहिँ केले, नयाँ दलले?’
थापाले यसअघि सदनमा सम्बोधन गर्दै अपराध कर्म गर्ने कसैलाई शक्तिका आधारमा छुट हुन नहुने धारणा राखेका थिए।
‘जुनसुकै दलको होस्। नागरिकतामा कीर्ते गरेर फलानो दलको हो भनेर चल्छ? जुनसुकै ताकत भएको होस्,’ थापाको प्रश्न थियो, ‘आम नागरिकले निक्षेप संकलन गरेर ठगी गर्छ भने, ठगीको मतियार बन्छ भने कानुनी कारबाहीको दायरमा आउनु पर्दैन?’ यद्यपि थापाले रविलगायत कसैको नाम लिएका भने थिएनन्।
नेपाली कांग्रेसका सांसदसमेत रहेका अर्बपति व्यापारी विनोद चौधरीका भाइ अरुण चौधरीलगायतमाथि पनि छानबिन गर्नपर्ने उनको भनाइ थियो। तर सरकारले स्टन्टका लागि मात्र पक्राउ गर्ने गरेको भन्दै उनले गृहमन्त्रीमाथि कटाक्ष पनि गरेका थिए।
उनले जग्गा मिच्ने, नागरिकतामा कीर्ते गर्ने र सहकारी ठगी गर्ने कसैले पनि उन्मुक्ति पाउन नहुने बताएका थिए।
‘चाहे जग्गा मिच्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस्,’ उनले भने, ‘चाहे ठग्ने होस्। यताको होस् वा उताको होस्। कसैले पनि उन्मुक्ति पाउनुहुन्न।’
हालै कास्की प्रहरीमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगी गरेको भन्दै उजुरी परेको छ। तर लामिछाने भने आफूलाई केही थाहा नभएको बताउँदै आएका छन्।
रविले भने काम गर्न पुराना दलहरुलाई नयाँ दलले कहीँ नरोकेको स्पष्ट पारेका थिए।
‘पुराना दलहरुले एक पटक आफ्नाे दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरु अझै पदाधिकारीको रुपमा रहन्छन्,’ उनले भने, ‘त्यहाँ हेर्ने हो कि ? विश्व विद्यालयलाई राजनीतिक मुक्त गर्छु भनेर गरिएको भाषणलाई कार्यरुप दिनलाई विश्वविद्यालयमा भ्रातृ संगठन नराख्ने निर्णय गरेर काम अघि बढाउने हो कि?’


