बाँके- खजुरा गाउँपालिकाका प्राविधिक लिलाराज धामीमाथि वडाध्यक्षले नै हातपात गरेका छन्। खजुरा गाउँपालिका-५ का वडाध्यक्ष गरिबे शेषले प्राविधिक धामीमाथि कार्यक्षेत्रमै पुगेर हातपात गरेका हुन्।
खजुरा गाउँपालिका-६ मा अवस्थित भानु माध्यमिक विद्यालयमा सम्पन्न भएको माटो पटान कामको प्राविधिक मूल्यांकन गर्न गएका प्राविधिक धामीमाथि कुटपिट गरेको स्रोतको भनाइ छ।
वडाध्यक्ष गरिबे वडा नम्बर-६ मा रहेको भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुन्। गाउँपालिकाले माटो पटानका लागि दुई लाख रुपैयाँ रकम विनियोजन गरेको थियो।
वडाध्यक्ष गरिबेले नापजाँच नगरी प्राविधिक मूल्यांकन गर्न दबाब दिइरहेको उनीहरूको आरोप छ ।
वडाध्यक्ष गरिबेले प्राविधिकलाई कुटपिट गरेपछि खजुराका प्राविधिकहरूले कामकाज ठप्प पारेका छन्। अहिले पालीकाका जनप्रतिनिधि र कर्मचारीबीच घटनाबारे छलफल भइरहेको छ ।


