काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लामो मन्तव्य राख्दैनन्। छोटो सयममा मुख्य कुरा भन्ने उनको शैली छ। तर त्यही छोटो समय पनि उनको भाषण सुनिदिन धेरै नेता तथा कार्यकर्ता तयार हुँदैनन्।
प्राय: कार्यक्रममा अन्तिम वक्ता हुने भएकाले पनि उनकै भाषण सुन्न भनेर अन्तिम समयसम्म कार्यक्रम स्थलमा बस्ने प्रतिवद्ध कार्यकर्ता कांग्रेसमा कमै छन्।
शुक्रबार पनि भयो यस्तै। कार्यक्रम थियो नेपाली कांग्रेस काठमाडौँको जिल्ला सम्मेलन। राष्ट्रिय सभागृहमा कार्यक्रमको सुरुसुरुमा भाषण सुन्ने थुप्रै मानिसहरू थिए। तर जतिजति देउवाको भाषण गर्ने पालो नजिकिन्थ्यो त्यतित्यति हल रित्तिँदै जान्थ्यो।
हलमा कार्यकर्ता नदेखिएपछि भित्तालाई भए पनि कुरा सुनाउने भन्दै मन्तव्य सुरु गरे। देउवाको बोल्न थालिसक्दा पनि कार्यकर्ता जम्मा भएनन्। हल खाली नै भयो। भाषण सुन्ने कार्यकर्ता नदेखिएपछि बाहिर भएकाहरूलाई कार्यक्रम सञ्चालकले भित्र हलमा बोलाएका थिए। कार्यक्रम सञ्चालकको बोली सुन्नासाथ देउवाले भने, ‘बाहिर कोही छैन, को बोलाउने?’
त्यसपछि देउवाले मञ्चबाटै एउटा ‘जोक’ सुनाए। यद्यपि उनको जोक सुन्नेहरू पनि निकै नै कम थिए।
‘एक पटक यस्तो अवस्था आयो कि बोल्दाबोल्दा हल खाली भइसकेछ। हलमा जम्मा एक जना,’ काठमाडौँ राष्ट्रिय सभागृहको कार्यक्रममा देउवाले थपे, ‘तपाईँलाई धन्यवाद है मेरो भाषण सुन्न बस्नुभएकोमा भनेछ वक्ताले। त्यही एक जनाले उत्तर दिएछ- म तपाईँको भाषण सुन्न आएको हैन। माइक लान आएको।’
कार्यक्रममा दौरान काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्ण बानियाँ सबुजले राष्ट्रियसभाको निर्वाचनमा आफूलाई उम्मेदवार नबनाएको भन्दै असन्तुष्टि पोखेका थिए। अधिकांश वक्ताले सबुजको भनाइमा सहमति जनाएपछि देउवाले बोल्नैपर्ने थियो। तर सुन्ने स्रोता त थिएनन् नै। देउवाले थप प्रष्टाउँदै भने, ‘हाम्रो साथीहरुलाई सुनाउनै पर्यो। कहिलेकाहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ।’
सुन्नेहरू नभएपनि देउवाले ठट्यौलीसहित मन्तव्य राखेका थिए।


