काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने छ। बैठक २ दिनसम्म चल्ने माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।
बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको ४ महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची रहेको उनको भनाइ छ।
उनका अनुसार समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ। माओवादी केन्द्रले ४ महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो।


