काठमाडौँ- त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिका विषयमा छलफल गर्न संसदीय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई बोलाएको छ।
प्रतिनिधिसभाको शिक्षा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार मन्त्री राईलाई बोलाएको हो।
सभापति भानुभक्त जोशीका अनुसार मन्त्रीलाई बोलाएर त्रिवि उपकुलपति नियुक्तिका विषयमा छलफल हुनेछ। ‘सोमबार समिति बैठकमा मन्त्रीलाई बोलाउने निर्णय गरेका हौँ,’ उनले भने।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जनाको नाम सार्वजनिक गरेको छ।
उक्त सूचीमा कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन्।
हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपति पनि छन्। उनी पनि उपकुलपतिको सर्टलिस्टमा परेका छन्।
भुसाललगायत सर्ट लिस्टमा परेकमा केहीव्यक्तिका बारेमा समिति सदस्यहरूले प्रश्न उठाउँदै आएका छन्। त्यसबारेमा प्रस्ट पार्न समितिले शिक्षामन्त्रीलाई डाकेको हो।
निमित्त भएर पनि भागबण्डाका आधारमा त्रिविका विभिन्न विभाग र क्याम्पसहरूमा प्रमुख नियुक्त गरिरहेको भन्दै भुसालको आलोचना भइरहेको छ।


