काठमाडौँ- सरकारले फागुन १ गतेका दिन जनयुद्ध दिवसमा दिन थालेको बिदा फिर्ता लिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत वर्ष दिएको बिदा यसवर्ष फिर्ता लिएको हो।
‘फागुन १ गते मंगलबारका दिन निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्ति उल्लेख छ।
यसअघि सर्वोच्च अदालतले फागुन १ गतेका दिन जनयुद्ध दिवसको बिदा संवैधानिक मान्यताविपरीत रहेको भन्दै फिर्ता लिन आदेश गरेको थियो।
पुस १३ गते सर्वोच्च अदालतले ‘जनयुद्ध’ दिवसमा बिदा दिने सरकारको निर्णयलाई बदर गरिदिएको थियो।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलले गरेको फैसलाको पूर्णपाठमा बिदा दिने निर्णय संविधानको व्यवस्था, मर्म, र मूल भावना प्रतिकूल रहेकोसमेत उल्लेख छ।
संविधान निर्माणका क्रममा २०६६ पुस १० गते संवैधानिक समितिमा छलफल हुँदा ‘जनयुद्ध थप गर्ने भन्ने’ शब्दसम्बन्धी प्रस्ताव बहुमतबाट अस्वीकृत भएकाले फागुन १ मा बिदा दिन नसकिने फैसलामा उल्लेख छ।
फागुन १ गते बिदा दिने निर्णयले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुग्न समेत नदिने फैसलामा उल्लेख छ।

‘जनयुद्ध दिवस’मा किन बिदा नदिने? यस्तो छ सर्वोच्चको ठहर [पूर्णपाठ]


