काठमाडौँ- काठमाडौँको चाबहिलमा पहिलोपटक लागेको ‘जुत्ताचप्पल व्यापार मेला–२०८०’ मा एक करोड भन्दा बढी रकमको कारोबार भएको छ।
१० हजारभन्दा बढीले अवलोकन गरेको मेलामा करोड रुपैयाँभन्दा पनि बढीको कारोबार भइसकेको नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बञ्जाडेले जानकारी दिए।
नेपाल जुत्ताचप्पल उद्यमी समूहले माघ १८ गतेदेखि चाबहिलमा पहिलोपटक जुत्ताचप्पल व्यापार मेलामा लगाएको हो।
फागुन १ गतेसम्म १० हजारभन्दा बढी ग्राहकले अवलोकन गरिसकेको बञ्जाडेको भनाइ छ। मेला फागुन १८ गतेसम्म चल्नेछ।
नेपाल जुत्ताचप्पल उत्पादक सङ्घका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली उत्पादनलाई उपभोक्तासम्म पुर्याउने उद्देश्यले चाबहिलमा पहिलोपटक जुत्ताचप्पल मेला आयोजना गरिएको बताए।
जुत्ताचप्पल मेलामा नेपालका १४ उद्योगका ३० भन्दा बढी ब्राण्ड र तीन हजारभन्दा धेरै डिजाइन प्रदर्शनमा राखिएको छ।
मेलामा हाइलाइफ, शु ल्याण्ड, बेली, बोश शुज, आइडल, भेनस, शिल्स, हिमानी, वन वल्र्ड, कोशेली, रनशुज, शिखर शुज, पिजी शुज र ब्याम्बो शुजका प्रदर्शनी कक्ष छन्।
नेपाली जुत्ताचप्पल उद्योगको उत्पादन क्षमता वार्षिक १६ करोड जोर भएपनि बिक्रीवितरण भने ६ करोड जोर मात्र हुने गरेको आयोजकको भनाइ छ। पछिल्लो समय नेपाली जुत्ता उद्योगको निर्यात व्यापार पनि फस्टाउँदै गएको न्यौपानेको भनाइ छ।
फागुन १८ गतेसम्म चल्ने मेलामा तीन करोडको कारोबार गर्ने लक्ष्य निर्धारण गरिएको हो। मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट दिइएकाले ग्राहकहरूले अवलोकन गर्ने क्रम बढेको आयोजकको दाबी छ।


